काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व छान्न अन्नतः मतदान प्रक्रिया शुरु भएको छ ।
सहमतीका लागि नेताहरुले गरेको प्रयास सफल नभएपछि नयाँ नेतृत्व छान्न प्रज्ञा प्रष्तिष्ठानको हलमा मतदान प्रक्रिया शुरु भएको हो । अखिलले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ ।
अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । वाङ्छु योञ्जनले भने आफ्नो उम्मेदवारी फिर्ता लिँदै समिक बडाललाई समर्थन गरेका छन् ।
महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । भने १५/१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।
७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको हो । यस पटक अखिलमा ठाडो गुटबन्दी नभएकाले पनि उम्मेदवार धेरै छन् ।
महासचिवका लागि पनि पाँचैजना मैदानमा छन् । महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।
त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् ।
कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन् । १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।