काठमाडौं । पुरानो गठबन्धन भत्किएर १० पुसमा अकस्मात् नयाँ गठबन्धन बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दिनहुँ जसो भेटघाट भइरहेको छ ।
१० पुसमा नयाँ गठबन्धन बनाएपछि ओलीको बालकोटस्थित निवासको बार्दलीबाट संयुक्त अभिवादन गरेका उनीहरू ५४ दिनमा २६ पटक भेटिसकेका छन् ।
नयाँ गठबन्धन बनाउन सकेको खुसियालीमा ओली १३ पुसमा आफैं प्रचण्डको खुमलटारस्थित निवासको छतमा पुगेर सुन्तला खाँदै वार्ता गरेका थिए ।
तर पुरानो गठबन्धन भत्काएको सफलताबाहेक अरू विषयमा यस्तै गरी खुसियाली मनाउने साइत जुरेको देखिँदैन । बरु शक्ति संघर्षमा आफूलाई कसरी माथि राख्ने भन्नेमा दुवैको ध्यान केन्द्रित भएको देखिन्छ ।
आपसी अविश्वासका बीच पटक–पटक वार्ता र संवाद भएको देखिन्छ । १० पुसदेखिको त्यो क्रम ४ फागुनसम्म आइपुग्दा पनि उस्तै गरी चलेको छ । बिहीबार बालुवाटारमा २ नेताले मात्रै २ घण्टा वार्ता गरेको बताइएको छ । तर यो वार्ताबाट पनि न ओलीले माओवादीलाई मनाउन सकेका छन्, न प्रचण्डले ओलीलाई तिमीहरूले भनेको उम्मेदवारलाई भोट दिन सक्दैनौं भनेर खुलेर भन्न सकिरहेका छन् । बरु गठबन्धनको सहमति र बाध्यतालाई देखाएर उनीहरूले समय व्यतीत गर्दै आएका छन् ।
यसक्रममा बालुवाटार, बालकोट, खुमलटार र बानेश्वरमा भएका दुई दर्जन बढी भेटले पनि दुई नेतामा विश्वासको संकट कति गहिरो छ भन्ने देखाउँछ ।
सत्तारुढ दलको सहमतिअनुसार प्रधानमन्त्री, सभामुख, उपसभामुखसहितका पदमा गठबन्धनमा समस्या देखिएन । तर राष्ट्रपति चुनावलाई लिएर भने एमाले र माओवादीको शीर्षस्थ तहमा अनेक आशंका देखिएका छन् । ३२ सीटको माओवादीलाई प्रधानमन्त्री बनाएको बदलामा ७८ सीट जितेको एमालेले खास शक्ति आफैंसँग राख्न खोजेको देखिन्छ । अर्कातिर माओवादी भने ओलीको यस्तो लगामबाट कसरी फुत्किने भन्ने ध्याउन्नमा देखिन्छ । यो बीचका अनेक भेटघाटको शृंखला यस्तै दाउपेचपूर्ण राजनीतिको वरिपरि घुमेको दुवै पार्टीका नेताहरू स्वीकार्छन् ।
प्रचण्ड र ओलीबीच १० पुसदेखि ४ फागुन ५४ दिनमा मुख्य भेटघाट नै कम्तीमा २६ बढी देखिएका छन् । यी २६ भेटमा १८ पटक एक्लाएक्लै भेटेका उनीहरूले ८ भेट संयुक्त रूपमा गरेका छन् । यस्ता भेट प्रधानमन्त्री निवास बालुवाटारमा सबैभन्दा धेरै ११ पटक भएको छ । बालकोटमा ४ पटक, बानेश्वरस्थित संसद भवन, खुमलटारस्थित प्रचण्ड निवास र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक–एकपटक भेटघाट भएका छन् ।
बालुवाटारभन्दा बालकोट वार्ता मुख्य र विभिन्न राजनीतिक अर्थ राख्ने हिसाबबाट भएको देखिन्छ । प्रधानमन्त्री हुनुअघि एकपटक र भएपछि तीनपटकसम्म बालकोट निवासका वार्ता केही न केही राजनीतिक सन्दर्भसँग जोडिएको घटनाक्रमले देखाएका छन् ।
१० पुसमा बालकोटमै पुरानो गठबन्धन ढालेर प्रचण्डको नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्यो । २७ पुसमा बालकोटमा वार्ता भएको अघिल्लो दिन मात्रै प्रचण्डले कांग्रेसको पनि विश्वासको मत पाएका थिए ।
मन्त्रिपरिषद् विस्तारको भागबन्डा प्रचण्डले बालुवाटारमा मिलाउन पाएनन् । ओलीले प्रचण्डलाई २ माघमा बालकोटमा बोलाएर गरेको लन्च वार्तामा मन्त्रालयको भागबन्डा मिलाइएको थियो । यो भेटको भोलिपल्ट ३ माघमा बालुवाटारमा सर्वदलीय बैठक राखेर प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको विषयलाई आफूले प्राथमिकता दिएको बताएका थिए ।
यस्तै २५ माघमा बालकोटमा फेरि दुई नेताबीच वार्ता भयो । तर यो वार्ताले २७ माघमा सुदूरपश्चिम सरकार बचाउने गरी कुनै सहमति जुटाउन सकेन ।
यो वार्ता भएको दुई दिनपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार विश्वासको मत पाउन नसकी एक महिनामै ढल्न पुगेको थियो । गठबन्धनसहितका अन्य विभिन्न ८ वटा बैठकमा पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएका छन् । यस्ता भेटवार्ता बालुवाटारमा बढी भएका छन् ।
भेटघाटको अनुपात हेर्दा एक दिन बिराएर गरेको जस्तो देखिन्छ । अत्यधिक भेटघाट भए पनि दुई नेताबीचमा आपसी विश्वास र सम्बन्ध भने खासै सुमधुर देखिन्न ।
सत्ता गठबन्धनको बाध्यता र राष्ट्रपति चुनावको सकसका बीचमात्रै भेटघाट भएको छ । नियमित भेटघाटले पनि सत्ता गठबन्धनको आपसी सहमतिलाई सौहार्द्ध बनाउन सकेको छैन । बरु सरकारमा सहभागी दलहरूबीच तिक्तता बढ्दै गरेको चर्चा छ ।
माओवादी नेता लीलामणि पोखरेल राष्ट्रपति चुनावलाई लिएर एमाले र कांग्रेसको पनि सहमति जुटाउने प्रयत्नमा आफ्नो दल लागेको बताउँछन् ।
‘प्रधानमन्त्री र अध्यक्ष तहमा थुप्रैपटक भेटघाट भएको छ । यी भेटघाट पनि एउटा समझदारी बनाएर जाऊँ भनेरै गरिएका हुन्,’ पोखरेल भन्छन्, ‘तर आजका दिनसम्म केही सहमति हुन सकेको छैन । राष्ट्रपतिको उम्मेदवारी मनोनयनसम्म पुग्दा यस्तो सहमतिको प्रयत्न गरिरहन्छौं ।’
आशंकालाई विश्वासमा बदल्न यस्ता भेटघाट आवश्यक हुने उनी बताउँछन् ।
सरकारलाई समर्थन गरेर पनि जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छन् ।
सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद र मन्त्री पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको छ ।
यतिमात्रै होइन राष्ट्रपतिको विषयमा एमाले र माओवादी नजिक हुने कुनै बिन्दुमा पुगेका छैनन् । पूर्व सहमतिअनुसार राष्ट्रपतिमा आफूहरूले अघि सार्ने उम्मेदवारमा सहमति गरेर जानुपर्ने एमालेको मत छ ।
तर २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि एक अर्काबीच झन् बढी आशंकाले डेरा जमाएको छ । त्यसैले पटक–पटक प्रचण्ड र ओलीबीच भेटघाट भए पनि यस्ता भेट परिणाममुखी भने भएको देखिएको छैन ।
यसरी बिग्रयो कुरा !
३२ सीट जितेको माओवादीका अध्यक्ष प्रचण्डलाई ७८ सीट जितेको एमालेले प्रधानमन्त्री बनाएदेखि नै सत्ताको सबै लगाम र कमान्ड ओलीसँगै रहेको छ ।
यही लगामले शुरूबाटै कसेका ओलीले प्रधानमन्त्रीबाहेक मुख्य मन्त्रालय माओवादीको हिस्सामा नपर्नेगरी भागबन्डा गर्न भूमिका खेले । त्यतिबेलै देखि प्रचण्ड झस्किएका हुन् ।
एकातिर प्रचण्ड ओलीसँग शुरूबाटै झस्किए । अर्कातिर केन्द्र र प्रदेशमा मुखैमा आएको सत्ता गुमाएको कांग्रेसले फेरि माओवादीलाई विश्वासमा लिन खोजेपछि ओली सशंकित बन्न पुगेका हुन् । सशंकित बने पनि ओलीले प्रचण्डलाई भेट्न भने छोडेका छैनन् ।
राष्ट्रपति एमालेलाई दिँदा आफू कमजोर र शक्तिविहीन हुने बुझाइमा पुगेरै प्रचण्डले कांग्रेससँग विश्वासको मत मागेका थिए । यो विश्वासको मतमा एमाले र माओवादीबीच अविश्वास पैदा गराउने लक्ष्य कांग्रेसको थियो । जुन लक्ष्यमा कांग्रेस सफल हुँदै आएको छ । तर एक दिन जस्तो बिराएर ओली र प्रचण्डबीच भेटघाट गाढा भए पनि सम्बन्ध टाढाटाढा हुँदै गएको घटनाक्रमले देखाएका छन् ।
२६ पुसमा कांग्रेसले दिएको विश्वासको मतपछि सत्ता साझेदार यी दुई दलबीच आपसी विवाद बढ्दै आएको देखिन्छ । ओलीको चाहनाविपरीत सभामुख निर्वाचनको दुई दिनअघि ३ माघमा प्रचण्डले सर्वदलीय बैठक गरेका थिए । बालुवाटारमा भएको त्यो बैठकमा ओलीले राष्ट्रपति कुनै हालतमा नछाड्ने भन्दै गठबन्धनको भावनाअनुसार अघि बढ्न प्रचण्डलाई आग्रह गरेका थिए । तर माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुन्ने विषयलाई प्राथमिकता दिने आशयको निर्णय गरिसकेको छ ।
यही बीचमा नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोषी हुँदा उनको सांसद र मन्त्री पद नै खारेज भयो । नागरिकता पुनः प्राप्त गरेपछि ओलीले रविलाई फेरि गृह मन्त्रालय दिलाउन सबै प्रयत्न गरे पनि सफल भएनन् । गृह नपाएकै झोंकमा रविले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएका छन् । यतिमात्रै होइन नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन हुन नसक्दा सुदूरपश्चिम सरकार बनेको १ महिनामा नै ढल्ने अवस्थामा पुगेको छ ।
राष्ट्रपति चुनावलाई प्रतिष्ठा बनाएका ओली अहिले खुलेर आलोचना गर्दा माहोल झन् बिग्रने भएकोले माओवादीप्रति आक्रामक देखिएका छैनन् । बरु आग्रही देखिएका छन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रचण्ड र ओलीबीच अविश्वास मात्र होइन यो गठबन्धन नै टुट्ने अवस्थासम्म पुग्ने बताउँछन् ।
‘एमाले अध्यक्ष केपी ओलीले सबै शक्ति आफूअनुकूल लिन खोज्दै गर्दा कांग्रेसको भूमिकाले पनि एमाले र माओवादीबीच अविश्वास पैदा गर्यो । कांग्रेसले विश्वासको मत दिएदेखि नै प्रचण्डप्रति ओलीले अविश्वास व्यक्त गर्न थाले,’ आचार्यले भने, ‘तर पनि विश्वासमा आएको संकटलाई समाप्त गर्न सकिन्छ कि भनेर प्रचण्ड र ओली दुई दर्जनजति भेटवार्तामा बसिसकेका छन् । तर यो अविश्वासको संकट हट्न सकेको जस्तो लाग्दैन । यसैले यो कोलिसन नै टुट्ने सम्भावना बढी देखिन्छ । राष्ट्रपति चुनावसँगै कांग्रेस, माओवादीको कोलिसन बन्ने सम्भावना बढी देखियो ।’
आचार्यले यस्तो दाबी गरे पनि कांग्रेस माओवादी तत्काल सहकार्य भइहाल्ने प्रस्ट संकेत पनि देखिएको छैन । तर, कांग्रेस वर्तमान गठबन्धन कसैगरी टुटेर सत्तामा पुग्ने आशमा छ ।
१० पुसयताका प्रचण्ड–ओली २६ भेट
१० पुसः बालकोट (नयाँ गठबन्धन बनेको खुसियालीमा बार्दलीबाट अभिवादन)
१३ पुस ः खुमलटार, नयाँ गठबन्धन बनेपछि हौसिँदै ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेर सुन्तला खाँदै वार्ता गरे ।
१५ पुस :बालुवाटारमा
१९ पुस : बालुवाटार : प्रचण्ड अोली भेटवार्ता
२७ पुस : बालकोटमा प्रचण्ड, अोलीसँग भेट
२८ पुस : अोली प्रचण्डलाई भेट्न बालुवाटारमा
३० पुस : बालुवाटारमा प्रचण्डलाई भेट्न ओली पुगे
२ माघ : अोलीलाई भेट्न प्रचण्ड बालकोटमा, मन्त्री टुंग्याउने छलफल
३ माघ : बालुवाटारमा सर्वदलीय बैठकमा प्रचण्ड अोली भेट
५ माघ : सभामुख चयनपछि संसद भवनमा प्रचण्ड अोलीबीच भेट
१० माघ : बालुवाटारमा प्रचण्ड ओली भेट
१२ माघ : बालुवाटारमा प्रचण्ड ओली भेट
१८ माघ: बालुवाटार प्रचण्ड ओली भेट
२१ माघ: बालुवाटारमा प्रचण्ड अोली भेट
२४ माघ: बालुवाटारमा प्रचण्ड ओली भेट
२५ माघ: बालकोटमा ओली र प्रचण्डबीच भेट
२६ माघ: सिंहदरबारमा प्रचण्ड ओलीबीच भेट
४ फागुन: बालुवाटारमा भेट
८ संयुक्त भेटका श्रृंखला
११ पुस : ओलीको अगुवाइमा बालकोटमा प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताको भेट
११ पुस : प्रचण्डको सपथ ग्रहणमा भेट, दुवैद्वारा संयुक्त अभिभादन गरेको फोटो सार्वजनिक
१४ पुस: बालुवाटारमा प्रचण्ड, अोली, रवि, लिङ्देनसहित गठबन्धनका शीर्ष नेताको बैठक
२० पुस: बालुवाटारमा प्रचण्ड ओलीसहित गठबन्धनका शीर्ष नेताको बैठक
२३ पुस: सरकारको न्यूनतम् साझा कार्यक्रमका विषयमा बालुवाटारमा ओली, प्रचण्ड र सरकारका मन्त्रीबीच छलफल
२४ पुस : प्रचण्ड ओलीसहितका गठबन्धनका शीर्ष नेताको बैठक
२५ पुस:सरकारको साझा न्यूनतम् कार्यक्रममा सार्वजनिक गर्दा प्रचण्ड अोली भेट
२ माघ : सत्ता साझेदारको बैठक बालुवाटार