काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न दुई दिन बाँकी रहँदा कस्तो समीकरण बन्छ भन्ने अन्योल बढेको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते शनिवार दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका रहेकोमा बिहीवार साँझसम्म उम्मेदवार टुंगो लागेको छैन ।
राष्ट्रपतिका आकांक्षी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमाले दुवैले ‘मतभारमा निर्णायक’ मानिएको नेकपा माओवादीको निर्णय कुरेर बसेका छन् ।
नेपाली कांग्रेसले आफ्नो पार्टीलाई माओवादीले समर्थन गर्ने भन्दै उम्मेदवार छान्ने आन्तरिक छलफल शुरू गरेको छ । बुधवार प्रचण्डसँग छलफल गरेका कांग्रेस नेताहरूले बिहीवार भने कुनै गतिविधि गरेनन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको एमालेले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनु पर्ने अडान लिइरहेको छ । कांग्रेस उत्साही भए पनि एमालेले राष्ट्रपतिमा आस मारिसकेको छैन ।
प्रचण्डले कांग्रेसलाई सपोर्ट गर्ने सोच्न सकिन्नः एमाले अध्यक्ष ओली
कांग्रेस र माओवादीबीच भइरहेका छलफललाई 'वाचु गरिरहेका अध्यक्ष केपी ओलीले पुस १० गते आफूहरूसँग सम्झौता भइसकेकाले माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै नमिल्ने टिप्पणी गरेका छन् ।
आफ्नै निवास बालकोटमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले माओवादीले कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका हुन् । ‘उहाँ (प्रचण्ड)ले सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन । हामीसँग पुस १० गते नै सम्झौता गर्नुभएको छ,’ ओलीले भने ।
बुधवार बालुवाटारमा भएको भेटमा ओलीले माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावपछि माधव नेपालले हिजो कांग्रेस नेतासँग छलफल गरेका थिए ।
७२ औं वसन्तमा प्रवेश गरेका ओलीले बिहीवार नै माओवादीलाई चिढ्याउने खालको एउटा अभिव्यक्ति दिएका छन्, जनयुद्ध दिवस सन्दर्भमा ।
सरकारले फागुन १ गते दिएको बिदालाई हिंसा दिवस भनेर ओलीले टिप्पणी गरेका हुन् ।
गठबन्धन ब्युँतिने अँझै टुंगो छैनः प्रचण्ड
राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको समयमा माओवादी अध्यक्ष प्रचण्डले चुनावअघिको पाँचदलीय गठबन्धन ब्युँतिने टुंगो नलागेको बताए ।
उम्मेदवार पनि फागुन १३ गते टुंगो लाग्ने उनले बताए । बुधवारको भेटपछि कतिपयले चुनावअघिको गठबन्धन ब्युँताउन कांग्रेस र माओवादी सहमत भएको दाबी गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘राष्ट्रपतिको उम्मेदवार १३ गते टुंगो लागि हाल्छ नि १’
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारी मनोनयन हुँदैछ । अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन ।
राष्ट्रपतिमा प्रस्तावित माधव नेपाल बिहीवार दिनभर छलफलमा व्यस्त रहे । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए । बिहीवार दिउँसो नै प्रचण्डले उपेन्द्र यादवसँग सिंहदरबारमा छलफल गरेका थिए ।
निर्णय लिन विलम्ब गर्दै प्रचण्ड
कांग्रेस र एमालेसँग समानान्तर छलफलमा रहेका प्रचण्डले कसलाई सघाउने भनेर अन्तिम निर्णय गरिसकेका छैनन् ।
बुधवार प्रचण्डसँगको छलफलमा रहेका कांग्रेसका एक पदाधिकारीले उपयुक्त समयमा निर्णय लिन्छु भन्ने जवाफ पाए पनि थप केही कुरा नआएको बताए । 'उहाँले उपयुक्त समयमा निर्णय लिन्छु भन्नुभएको हो, निर्णय लिइसक्नुभएको जानकारी छैन,' ती पदाधिकारीले लोकान्तरसँग भने ।
एमालेका नेताहरू पनि प्रचण्डसँग नियमित सम्पर्कमा छन् । तर, अध्यक्ष ओलीसँग भने बिहीवार भेट भएको छैन ।
'प्रचण्डले पुस १० को सहमतिअनुसार हामीलाई नै समर्थन गर्नुहुन्छ भन्ने विश्वासमा छौं,' एमालेका एक नेताले भने, 'उहाँले आफ्नो विश्वसनीयता कायम राख्नका लागि पनि दुई महिनामै एमालेलाई धोका नदिनुहोला भन्ने लाग्छ ।'
माओवादी महासचिव देव गुरुङले राष्ट्रिय सहमति हुनुपर्छ भन्नेमा आफूहरू अडिग रहेको बताए । यद्यपि कुनै निर्णयमा पुगिनसकेको उनको भनाइ छ ।
माओवादी महासचिव देव गुरुङले भने ‘अहिलेसम्म हामी कुनै निर्णयमा पुगेका छैनौं, राष्ट्रिय सहमति खोज्ने पार्टी निर्णयमा अडिग छौं,’ ।