काठमाडौं । पुस १० गतेको सहमति च्यातेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि सत्तासाझेदार एमाले क्रुद्ध बनेको छ ।
प्रचण्डले धोकाधडी र दाउपेचको राजनीति गरेको एमालेले आरोप लगाएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशलाई अन्तहीन अस्थिरतामा लैजाने खोजेको आरोप लगाए । ‘यो निर्णयले मुलुकलाई अन्तहीन अस्थिरतामा लग्यो भन्ने हाम्रो ठहर छ’, ज्ञवालीले भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति बसेको माओवादी, नेकपा एस, जसपालगायत ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गरेर प्रचण्डले छुद्र खेल खेलेका ज्ञवालीको आरोप छ।
‘राजनीतिमा कति धेरै धोकाधडी, दाउपेच र कुनै कुरालाई विश्वास गर्न गर्न नसक्ने खालका छुद्र खेल हुन्छन् भन्ने देखायो’, ज्ञवालीले भने ।
एमालेले राष्ट्रपति निर्वाचनमा वैदेशिक हस्तक्षेप भएको समेत निष्कर्ष निकालेको छ । ‘समग्र घटनाक्रममा बाह्य पक्ष सक्रिय भएको र दौडधूप गरेको देखियो, यसले नेपालको स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कुण्ठित गरेको अवस्था छ, समष्टिगतमा दुभाग्यपूर्ण निर्णय भयो’, ज्ञवालीले भने ।
यी सबै कुरामा प्रधानमनन्त्री प्रचण्ड मुख्य बाहक बनेको ज्ञवालीले आरोप लगाए । बालुवाटारमा ८ दलको बैठकअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो कुराकानी गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।