काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छुट्टै बैठक बसेर को को कति कति समय प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएका छन्।
शुक्रबार बालुवाटारमा बैठक चल्दै गर्दा प्रचण्ड, देउवा र नेपाल छुट्टै बैठक बसेर प्रधानमन्त्रीको कार्यकाल निधो गरेको एक नेताले बताए।
'उहाँहरूले प्रधानमन्त्रीको कार्यकालको टुंगो लगाएपछि कुरा मिलेको हो,' ती नेताले भने, 'पहिलो कार्यकाल प्रचण्ड, दोस्रो माधव नेपाल र तेस्रो देउवालाई दिने भन्ने सहमति तीन नेताले गर्नुभएको छ। कसले कति समय लिने भन्नेबारे चाहिँ जानकारी दिनुभएको छैन।'
कांग्रेसका अर्का एक नेताले भने प्रचण्ड पहिलो साढे दुई वर्ष, त्यसपछि नेपालले एक वर्ष र बाँकी साढे एक वर्ष देउवाले सरकार चलाउने र कांग्रेसले चुनाव गर्ने सहमति भएको बताए।
माओवादी उपमहासचिव जनार्दन शर्माले पनि प्रधानमन्त्रीको कार्यकाल तीन नेताले छलफल गरेर टुंगो लगाउने बताए। उपराष्ट्रपति भने जसपाले पाउने सहमति भएको उनले जानकारी दिए।
'उपराष्ट्रपति जसपाले पाउने एक खालको सहमति भएको छ। प्रधानमन्त्रीको कार्यकालबारे तीन नेता (प्रचण्ड, देउवा र नेपाल) बसेर टुंगो लगाउनुहुन्छ,' शर्माले भने।
शुक्रबारको बैठकमा आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको छ। कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो।
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले कांग्रेसको उम्मेदवारलाई सघाउन ८ दल सहमत भएको बताएका छन्। 'राष्ट्रपतिमा हाम्रो दाबी भए पनि संसदको ठूलो दल कांग्रेसलाई समर्थन गरेको छ,' उनले भने।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जनताको चाहनाअनुसार अघि बढ्नु पर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरू भएको बताएका थिए।
'प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहनाअनुसार अघि बढौं भन्नुभयो। हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो,' उपमहासचिव ज्वालाले भने।
राष्ट्रपति उम्मेदवार को भन्नेबारे कांग्रेस आफैंले छलफल गर्ने उनले बताए। 'व्यक्ति को भन्नेबारे कांग्रेसले छलफल गर्ला। त्यो उसैको कुरा हो,' उनले भने।
उम्मेदवार तय गर्न शनिबार बिहान कांग्रेस बैठक बस्दैछ। कांग्रेस महामन्त्री गगन थापाले भने बैठकमा राष्ट्रपतिको विषयमा मात्र छलफल भएको बताए। राष्ट्रपतिमा कांग्रेसलाई ८ दलले सघाउने र अन्य विषयमा थप छलफल हुने उनले जानकारी दिए।
शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।