सिमकोट । जिल्ला सदरमुकाम सिमकोट स्थित तीनवटा विद्यालयका विद्यार्थीहरूमा एक हप्तादेखि पठनपाठनकै समयमा कक्षाकोठामै बेहोस् भइ बिरामी परेका छन् ।
सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालय, ६ स्थित मानसरोवर माध्यमिक विद्यालय र ७ स्थित कर्णाली माध्यमिक विद्यालयका गरी १८ जना विद्यार्थीहरु अज्ञात रोगबाट बिरामी भएका हुन् ।
विद्यार्थीहरु बेहोस भइ बिरामी हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्याक कैलाश रोकायाले जानकारी दिनुभयो ।
एक हप्तादेखि बिद्यालयमा अज्ञात रोगले विद्यार्थी बेहोस हुने क्रम बढिरहेको छ । विद्यालयमा अध्ययनरत बिद्यार्थी पढ्दा पढ्दै कक्षाकोठामा अनौठो क्रियाकलाप गर्दै बेहोस हुने गरेको प्रधानाध्याक रोकायाले बताउनु भयो ।
तीनवटै विद्यालयका छात्राहरुमा उक्त लक्षण देखिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । रुने, कराउने, काम्ने, बरबराउने र बेहोस हुनेजस्ता समस्या देखिन थालेपछि अहिले दैनिक ३ र४ जना बिद्यार्थीहरु बेहास भएर अस्पताल भर्ना गर्ने संख्या भने बढ्दै गएको छ ।
अघिल्लो सातादेखि नै एक दुई विद्यार्थीमा यो रोगको लक्षण देखिएको थियो । तर दिनानुदिन विद्यालयमा यसको संख्या बढ्न थालेपछि समस्या भएको र नामै खुल्न नसकेको रोगले विद्यार्थी बिरामी हुनथालेपछि पठनपाठनमा थप समस्या भएको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रामराज शाही, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कलाश रोकाया र मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले जानकारी दिनु भएको छ ।
बाल मन्दिर र मानसरोवर माध्यमिक विद्यालयका १३ जना बिरामी परेका विद्यार्थीहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको र कर्णाली माध्यमिक विद्यालयका पाँच जना विद्यार्थीहरुलाई भने स्थानीय स्तरमै उपचार भइरहको छ ।
मास कन्भर्जन डिसअर्डरका कारण विद्यार्थीहरु बेहोस भएको हुन सक्ने जिल्ला अस्पताल सिनियर अनमी बोहराले जानकारी दिनु भयो । यो रोग उपचार भन्दा पनि परामर्शले निको हुने भएकाले विद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको उहाँको भनाइ छ ।