देशको इतिहाँसले एकदलीय, बहूदलीय, राजतन्त्रात्मक व्यवस्था, १० वर्षे कहालीलाग्दो जनयुद्ध र जनआन्दोलन जस्ता विभिन्न चरणहरु भोगिसकेको छ । राज्य सञ्चालनमा अहिले पनि हे¥यौ भने उही पुरानै अनुहार बारम्बार दोहोरिरहेका छन् । पहिलो पुस्तादेखि तेस्रो पुस्तामा आईपुग्दा समेत उनै अनुहारहरुले सत्ता सञ्चालनको बागडोर सम्हालिरेका छन् । देशको भविष्य दिनानुदिन अँध्यारोतिर मडारिदैं गरेको भयावह स्थितिमा तेस्रो पुस्ताका युवाहरुको सोचमा आफ्नो भविष्यलाई मध्यनजर गर्दै सामाजिक, आर्थिक र राजनीतिकप्रति फरक दृष्टिकोण बनिरहेको छ । देश हाँक्ने पहिलो पुस्ताको क्षमता, कार्यशैली, रणनीतिक योजना र संस्कारले नयाँ पुस्ता आजित बनिरहेको परिदृष्य यतिबेला कसैले नकार्न सक्दैनन् । यहाँ युवाहरुको बिचमा दुईवटा चिन्ताले थिचेको छ ।
१. देशको भविष्यलाई समृद्धितर्फ लैजान सबल र सक्षम नेतृत्व बन्ने
२. पुस्तान्तरणमा कुनै नीति नै छैन, आफ्नो भविष्य आफैं कसरी बनाउने
समृद्धि एक दार्शनिक अवधारणा हो । रोजगार भनेको उत्पादनका साधनले काम पाएको अवस्था हो । रोजगार आयआर्जन हुने कामको अवसर हो । मुलुक बाहिर गरिने रोजगारी बैदेशिक रोजगारी हो भने आफ्नो देशभित्र गरीने रोजगारी स्वेदेशी रोजगारी हो ।
देशको समृद्धि भनेको युवाहरुको शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा नै हो । युवाहरुको विचार, जोश र क्षमतालाई देश विकासमा जोड्न नसक्नु नै अहिलेको राज्य व्यवस्थाको पहिलो कमजोरी हो । युवाहरु नै यस देशका भविष्य हुन् । यो अहिलेको सत्ता, सरकारले बिर्सिसकेको छ, जसका कारण लाखौं युवाहरु विदेशीन बाध्य भएका छन् । स्वदेशमा बसेर केहिगर्ने मात्र हैन सामान्य आधारभूत आवश्यकताका पूर्तिसँगै जीवन बाँच्ने समेत वातावरण छैन ।
देशको युवा र श्रमजीवी वर्गलाई विभिन्न बहानामा करको चपेटामा र बैंकको ब्याजमा भएको ज्यामितिय बृद्धिले रोजगार त के स्वरोजगार बनेर बस्ने वातावरण पनि छैन । त्यतिमात्रै होइन, यसकै कारण देशमा लगानी गरिरहेका ठूला व्यवसायीहरु देशको पुँजी बोकेर विदेशमा लगानी गर्दैछन् भने साना तथा मझौला व्यवसायीहरू पनि अन्तिम विकल्पका रुपमा वैदेशिक रोजगार रोजेर उड्दैछन् । मुलुकमा भइरहेको भ्रष्टाचार, अराजक र अनैतिक प्रशासनिक झमेला रहेसम्म युवा मात्रै हैन देशको दक्ष युवा जनशक्ति निरन्तर पलायन भईरहनेछ ।
देशमा दक्ष श्रम र रोजगार गर्नसक्ने युवाहरुको संख्या राष्ट्रिय जनगणना २०७८ अनुसार करिब ५७ प्रतिशत जनसंख्या रहेको छ । वर्तमान सरकारले युवाहरुको सचेतना, विकास र देश निर्माणमा विगतको नीति विश्लेषण, आर्थिक, युवा व्यवस्थापन र विकासमा ठोस ध्यान दिन सकिरहेको छैन । यो प्रष्ट छ, नेपाली नागरिकता प्राप्त गरी पासपोर्ट बनाई भविष्य खोज्न आफ्नै जन्मभूमि होइन, तेस्रो मुलुकलाई जीवनको गन्तव्य बनाउने पिंडा बोकेर दैनिक रुपमा देशको कर्मठ श्रमशक्ति बाहिरिरहेको छ । यतिबेला युवाहरुलाई स्वदेशमै शक्ति सञ्चय गर्ने जनमूखी नीति कार्यक्रमको खाँचो थियो तर सत्ता लिप्स साझेदार राजनीतिक नेतृत्व तहले कुर्सीका लागि दिमाग ख्याएर अगाडि बढे । यो समय युवाको हातमा सुम्पन्न सक्नु पथ्र्यो । युवा नेतृत्व विकास र सीपबाट दक्ष बनाउन सक्नु पथ्र्यो तर त्यसो हुन सकेन । खुट्टामा चप्पल र पिठ्यूमा झोला बोकेर गहभरि आँशु पारेर अन्तर्राष्ट्रिय ट्रमिनलहरुमा लाईन लागेको दृश्यले देखाइरहेको छ ।
देशको जनसंख्या मापनलाई अनुसरण गरेर हेर्ने हो भने श्रम गरेर जीवन गुजारा चलाउने श्रमजीवी वर्गहरुको बाहूल्यता हुँदाहुँदै कम संख्यामा रहेको कथित पुँजीपति वर्गले तिनै श्रमजीवी वर्ग समुदायलाई हेपेर श्रमिकहरुको ज्याला कटौति र चरम श्रमशोषणबाट राज्य सत्ता सञ्चालन वर्षौदेखि गर्दै आइरहेको छ । अहिलेको युवा देशको सक्षम नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता राख्छ । तर विगतदेखिको अस्थिर राजनीतिक प्रवृत्ति, धरासायी आर्थिक विचलन, सीप हुँदाहुँदै रोजगारीको अवसर गुमाउनुको पींडा र सामाजिक द्वन्दले युवाहरुको मनस्थिति अन्तर्राष्ट्रिय स्तरीकरणको दृष्टिकोणले बदिलिंदै छ । आप्mनै गाउँठाउँ, पाखापखेरा र शहरहरुमा व्यक्तिगत आत्मनिर्भरता र भविष्यसँग आश्वस्त नभएर सिङ्गो पुस्ता नै विदेश हिंड्न तम्तयार हुँदा देशको समृद्धि र विकास एवम् उन्नतिको सम्भावना भने घटिरहेको छ । दिनहुँ सरदर २५ सय दक्ष तथा अर्धदक्ष सीपयुक्त युवा जनशक्ति आफ्नो जन्मभूमि छोडेर भविष्य कोर्न भिसा लगाएर रोजगारी र अध्ययनका लागि विदेश उड्न थालेपछि विमानस्थलमा सधैं घुइँचो लाग्छ । यसरी आफ्नो जन्मभूमि छोडिरहेका मध्ये प्रायजसो युवापंक्तिले सधैंका लागि विदेशमा स्थायी वसोवास गर्ने योजना बनाएको पनि पाउँछौं ।
नेपालको कूल जनसंख्याको १६ वर्ष देखि ४५ वर्ष उमेर समूह २०७९ सालदेखि स्वदेशमा भन्दा विदेशमा आफ्नो भविष्य र सपना देख्ने संख्या ह्वात्तै बढेको देखिन्छ ।
विगतका वर्षहरुको तथ्याङ्कलाई मात्रै अध्ययन गर्ने हो भने काम र अध्ययनका लागि झण्डै नौ लाख युवाले देश छोडेको पाइन्छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० मा रोजगारका लागि ७ लाख ७५ हजार युवा विदेश उडिसकेका छन् । त्यस्तै, गतवर्ष १ लाख १० हजार यो देशको भविष्य निर्माण बोकेका विद्यार्थीहरु मात्रै अध्ययनका लागि विदेश गएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कले बदेखाउँछ । शिक्षित र सीपयुक्त युवाहरुको जमातले आफ्नो भविष्य र पारिवारिक व्यवस्थापनमा देखेको चुनौतिले विदेशिनुलाई बाध्यताका रुपमा लिएका छन् ।
राष्ट्रिय जनगणना, २०७८ ले परिवारबाट अलग भएर विदेशमा वसोवास गर्ने नेपालीको संख्या करीब २२ लाख देखाएको छ । तर तथ्याङ्कमा अध्ययन र रोजगारीका लागि विदेशमा रहने नेपालीको संख्या यो भन्दा कैयौं गुणा धेरै छ । यसको तुलनामा भारत बाहेकका तेस्रो मुलकमा रोजगारी र अध्ययनका लागि औपचारिक तथा अनौपचारिक रूपमा पुगेका नेपालीको संख्या करिब ५० लाख रहेको अनुमान गरिन्छ । यसरी ठूलो संख्यामा विदेशिनु बाध्यत्मक परिस्थितिले नेपाली श्रमबजारमा अर्को विकराल परिस्थिती बालश्रम बढेको छ । विश्व मानव सभ्यतामा बालश्रमलाई सभ्य समाजको लागि एउटा कलंक नभै बालबालिकालाई काममा जोताउने समाज सभ्य र सु–संस्कृत हुनै नसक्ने ठहर गरेको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकमा बालश्रम जस्तो जघन्य सामाजिक अपराधलाई जरैदेखि उखेलेर फयाँक्नका लागि हातेमालो गर्न, बालश्रम प्रयोग नगर्न र हुन नदिन प्रतिवद्दता भएपनि त्यो व्यवहारमा उतार्न नसकिरहेको अर्को एउटा चुनौति हो । त्यसैगरी महिला हिंसा, युवाहरुमा दूव्र्यसनी र समाज प्रतिको नकारात्मक सोचतिर ढल्किनु पनि अर्को सामाजिक चुनौति मडारिरहेको छ । वर्तमान ऐन, कानूनले पहुँचवालाको वकालत र सफाईमा मात्रै ध्यान जानुले यस्ता अपराधिक र असामाजिक क्रियाकलापहरु ग्रामिण तथा शहरी क्षेत्रमा बढिरहेको देख्छौं, पढ्छौं र सुन्छौ पनि । समानता, स्वतन्त्रता र वैचारिक दृष्टिकोणले हेर्न हो भने समाजको विकासको मोडेल फेरिएको छ ।
डिजिटल प्रविधिमा शहर मात्रै होइन गाउँ पनि भिजिसकेको हामी पाउँछौं । नेपालमा युवाहरुले सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोग शैक्षिक, सांस्कृतिक र सामाजिक रुपान्तरणतिर होइन, मनोरञ्जनको रुपमा बढी मात्रामा सञ्चालन गर्ने गरेको तथ्याङ्क पाइन्छ । यसको सहि सदुपयोग र फाइदाका बारेमा समयमै राज्यले कुनै ठोस योजना निर्माण गर्न नसक्नु अर्को दुःखद पक्ष हो । विदेशमा उच्च शिक्षा अध्ययन गरेका र प्राविधिक ज्ञान पाएको जनशक्ति स्वदेश फर्केता पनि स्वदेशमा भविष्य नदेखेर सुरक्षित भविष्य र आकर्षक आम्दानीका लागि पुनः विदेश पलायन भइरहेको छ । नेपालबाट वर्षेनी कति संख्यामा पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन । यसरी दक्ष युवा जनशक्तिको विदेश आकर्षण, स्वदेशमा रोजगारीको ग्यारेन्टी, योगदान अनुसार सामाजिक सुरक्षाको राम्रो प्रबन्ध, पारिवारिक सुरक्षा र भविष्यको सुनिश्चितता नहुनु नै हो । देशमा सरकारले पेशागत र व्यवसायिक दक्षताका आधारमा रोजगारीको सिर्जना नगर्दा प्रयाप्त रोजगारीको अवसर छैन, रोजगारी पाएपनि उचित पारिश्रमिक छैन, सामाजिक सुरक्षाको सुनिश्चितता छैन, काममा मर्यादा छैन । यसले श्रम स्वदेशमै सञ्चित हुन नसेकेको प्रष्टै झल्किन्छ । यदि स्वदेशमै स्वस्थ प्रतिस्पर्धाको रोजगारी, उचित पारिश्रमिक, मर्यादित काम, सामाजिक सुरक्षाको प्रत्याभूति दिन सक्ने नीतिलाई सरकारले कडाईका साथ कार्यान्वयन गर्न सक्ने हो भने अवश्य पनि देशको समृद्धि सम्भव छ र युवाले स्वदेशमै रोजगारी प्राप्त गर्ने देखिन्छ ।
नेपाली राजनीति, सामाजिक परिवेश र प्रशासनिक क्षेत्रमा नेपाली युवाहरुको आशा, विश्वास र भरोसा नराम्रोसँग टुटेको छ । देशको अस्थिर राजनीतिले युवाहरुमा यस्तो भाष्य तयार भयो कि, राजनीतिमा लागेर के हुन्छ ? सबै नातावाद, कृपावाद, चाप्लुसी र होडबाजीमा गाँजिएका छन् । राष्ट्र, समाज र संगठनका लागि हामी युवाहरुको त्याग, बलिदान र योगदानको कहाँ कहिले कदर हुने र हुनसक्ने संस्कार विकास भएको छ ? जन्मेदेखि बयस्क उमेर हुँदासम्म कैयौं आन्दोलनमा युवाहरुको पंक्ति उभियो, के राज्य व्यवस्था परिवर्तनमा युवाहरुको मूल्याङ्कन आन्दोलन र भिंडमा मात्रै हो त ? बहुदलीय राज्य व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्य व्यवस्थासम्म पनि युवाहरुको उचित मूल्याङ्कन हुन नसक्नु र युवाहरुको ठूलो संख्यामा देशको नीति निर्माण र विकासका लागि नेतृत्वतहमा पु¥याउन नखोज्नु नै अहिलेको यो विकराल परिस्थिति सिर्जना भएको हो भन्नुमा कसैलाई कन्जुस्याई गर्न सक्ने ठाउँ छैन ।
वर्तमान सरकारको रवैयाका कारण नेपाली श्रमबजारमा अर्थतन्त्रको स्वरूप नै आम्दानी र खर्चका बीचमा मेलमिलाप नहुने स्थितिबाट गुज्रिरहेको छ । नेपाली श्रमजीवी वर्ग समुदायमा निश्चित आम्दानी भएका घरपरिवारलाई आधारभूत आवश्यकताका चिजबिज किनेर घर चलाउनै कठिन भइरहेको छ । लामो द्वन्द्व र राजनीतिक संक्रमणसँगै दोस्रो जनआन्दोलन ०६२/०६३ पछि देशले लिएको परिवर्तनकारी उत्साहबाट मुलुकले उन्नति र समृद्धिको गती लिने जुन नेपाली जनमानसको आश पलाएको थियो त्यो पूरा नभएपछि युवामा मात्रै होइन वयोबृद्धहरुमा समेत नेपाली राजनीति र प्रशासनमा निराशा बढिरहेको छ । देशमा आर्थिक गतिविधिको सुस्तताका कारण व्यवसाय र रोजगारीको अवसर एक्कासी हराउनुले युवाहरु विदेश जाने क्रम बढेको छ । त्यसैमाथि राजनीतिक अस्थिरता, अपारदर्शी प्रशासन नीति, सरकारको कमजोर कार्यसम्पादन, व्याप्त भ्रष्टाचारले युवालाई देश छोड्न बाध्य पार्ने तत्वहरु हुन् ।
श्रमप्रति सम्मान, श्रमिकप्रति दृष्टिकोण, स्थानीय स्रोतसाधनको अधिकत प्रयोग, उत्पादनको स्वदेशी प्रयोग र उत्पादन क्षमतालाई राज्यको समृद्धिको दृष्टिकोणबाट सरकार र राजनीतिक दलहरुले कार्यान्वयनमा ल्याउने हो भने युवाहरुको प्रतिनिधित्व बढ्ने मात्रै होइन, स्वदेशमै श्रमशक्ति सञ्चित हुनेछ । समाजमा रहेका युवाहरु प्रशिक्षित नभई अपेक्षित परिवर्तन हुँदैन । त्यसैले परिवर्तन ज्ञान, सीप र विवेकको बलद्वारा छिटो सम्भव हुने हुँदा सामाजिक क्रान्तिको आवश्यक छ । वस्तुगत विकासका नियमहरू अनुकूल दिशामा मनोगत शक्तिको प्रयास केन्द्रित भयो भने क्रान्ति चाँडो सम्पन्न गर्न सकिन्छ । जननेता कमरेड मदन भण्डारीबाट व्यक्त यस विचारले परिवर्तनका लागि वस्तुगत विकासको अनिवार्यतामा जोड पु¥याएको छ । नेतृत्वले वस्तुगत विकासका नियमहरूमा हेक्का राख्नु पर्दछ र तदनुरूपको आत्मगत शक्ति निर्माण गर्दै परिवर्तनको पक्षमा परिचालन गर्नु पर्दछ । परिवर्तनको लागि साहस चाहिन्छ र जोखिम सामना गर्ने आँट पनि चाहिन्छ । विगतले गरेको कामले मात्रै युवा आन्दोलनको भविष्य सुरक्षित गर्दैन । प्रगति भित्र जहिले पनि जोखिम हुन्छ, युवाहरुले बुझ्नु जरुरी छ । यदि यसैगरी राजनीतिक अस्थीरता भनिरहने हो भने परिवर्तन बाहेक केही कुरा पनि स्थिर छैन । त्यसैले विधि विधान, संगठन संरचना र संगठनको प्रभाव र युवाहरुको सहभागिता लागि सिक्न र सिकाउन नेतृत्व तहले निरन्तर जोड दिनुपर्छ ।
(जि.सी. एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभाग सदस्य तथा नेपाल ट्रेटयूनियन महासंघ –जिफन्टका कर्णाली प्रदेश अध्यक्ष हुनुहुन्छ ।)