सिमकोट । लामो समयको खडेरीपछि कर्णाली हुम्ला लागयत कर्णालीका हिमाली जिल्लाहरुमा बिहिबार बिहनाबाट निरन्तर हिमपात भैरहेको छ ।
बुधबार बिहानैबाट मौशममा फेरबदल आएपनि बिहिबार बिहान पौने ५ बजेबाट हल्का हिमपात शुरु भएको हो ।
हिमपातले सदरमुकाम सिमकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । लामो समय हिउँ नपरेपछि जाडो महशुस नगरेको हुम्लाका स्थानीयलाई बिहानैबाट परेको हिमपातका कारण अत्याधिक जाडो बढेर जिल्लाको जनजीवन निकै प्रभावित भएको छ ।
लामो समय देखि पानी नपरेको हुम्लामा जिल्लाको उत्तरी क्षेत्र नाम्खाको लिमी क्षेत्रमा झण्डै एक फिट हिउँ जमेको भएपनि सदरमुकाम सिमकोटमा सामान्य हिउँ जमेको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस १५ भन्दा तल झरेको छ ।
हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका वस्तीहरुमा अत्याधिक जाडो निकै बढेको छ ।
लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् ।
पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्यांग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाढका स्थानीय खुशी भएको अदानचुली गाउँपालिका १ का वर्षे महताराले जानकारी दिए ।
गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुख मनाउ गरेका कृषकलाई यो हिमपातले खुशी बनाएको बताएका अदानचुली गाउँपालिका १ का प्रीमे महताराका अनुशार यो पटकको हिमपातले बारीको गहुँ अब उम्रीने छ ।