भैरहवा । रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनका विद्यार्थीहरुले पुस्तक मेला लगाएका छन् । सरस्वती पूजाको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शन गरेका हुन् ।
सौद्धान्तिकभन्दा पनि अन्य पुस्तकहरु पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरुको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरुमा पुस्तकप्रतिको रुची घट्दो अवस्थामा पुस्तक मेलाले विद्यार्थीहरुमा पढाइप्रति रुची अभिबृद्धि गर्ने विश्वासका साथ विद्यार्थीहरुकै सक्रियतामा पुस्तक मेला आयोजना गरिएको हो ।
विद्यार्थीहरुले ल्याएका साहित्य, सास्कृतिक, धार्मिक र ऐतिहासिक लगायतका विभिन्न विधाका पुस्तकहरु विद्यालयले संग्रह बनाई पुस्तकालयमा राख्ने विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले जानकारी दिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई उपयोगी सबै उमेरलाई सुहाउने प्रकारको उपयोगी पुस्तक मेलाका लागि संकलन भएको छ । ऐतिहासिहक पुस्तकहरु पनि विद्यार्थीहरुले संग्रहको रुपमा ल्याएका छन संकलित सबै पुस्तकहरु विद्यालयले सम्पतिको रुपमा राखी दर्ता र नामाकरण गरी संरक्षण गर्ने छ । विद्यार्थीहरुले खाली समयको सदुपयोग गर्ने, सैधान्तिक शिक्षा भन्दा बाहिरका विषयबस्तुको ज्ञान बढाउन र अभिभावकहरुले पनि अध्ययन गर्न पाउने छन् ।
कोर्स बाहिरका किताबले सिकाइमा अहम भुमिका खेल्ने र यी पुस्तकले अध्यापनलाई सजिलो बनाउने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले बताए । मेलाले विद्यार्थीको पठन संस्कृति विकास हुने पुस्तकबाट बढी भन्दा बढी फाइदा लिन सक्नु पर्ने अध्यक्ष ज्ञवालीले भने । मेला पश्चात संकलित पुस्तक विद्यार्थी, अभिभावकहरुले सहजै पढ्न पाउने व्यवस्था विद्यालयले मिलाउने र थप पुस्तकहरुको संग्रह बढाउदै लैजानेछ । पुस्तकालयले विद्यार्थीलाई पाठ्यपुस्तकसहित बाहिरी ज्ञान लिन सजिलो हुने अध्यक्ष ज्ञवालीले भने ।
विद्यालयले शैक्षिक क्रियकलापसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने गरेको छ । लुम्बिनी शिक्षा निकेतन बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । ९ सय बढि विद्यार्थी रहेको विद्यालयमा बालविकास देखि कक्षा १० सम्मको अध्यापन हुने गरेकोमा कक्षा ११ र १२ संचालनको लागि पालिकामा निवेदन दिएको छ ।
यस्तै श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा भैरहवा लागयत शैक्षिक संस्थाले सामुहिक पूजापाठ गरेका छन् । अधिकांस शैक्षिक संस्थाले पुजाको अवसर पारेर निस्शुल्क भर्ना लगायतका सुविधा दिइ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पूजा, भक्ती अनि आराधना गराउँदै साना साना भाइबहिनीहरुलाई अक्षराम्भ गर्दै सरस्वती पूजा मनाएका छन् ।
विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गरेका छन् । यही दिन बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन पनि सुरु गराउने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने, विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र आजैको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।