जाजरकोट । जाजरकोट जिल्लामा भूकम्प पछिको पुनर्निर्माणका प्रगतिबारे नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका प्रमुख निरज आचार्यले जाजरकोटको चौथो बैठकमा जानकारी गराउनुभएको छ।
उहाँले पार्टीको निरन्तर पहलकदमी र खबरदारीका कारण जाजरकोटमा पुनर्निर्माणका कामले गति लिएको बताउनुभयो ।भूकम्पपछिको पुनर्निर्माणका लागि ‘विपत् पुनःस्थापना, प्रवलीकरण तथा पुनर्निर्माण कार्यविधि’ संशोधनसहित पारित भइसकेको उनको भनाइ छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुल्चोक क्याम्पससँग सहकार्य गरी भेरी नगरपालिका वडा नं. १ र ३ तथा नलगाड नगरपालिका वडा नं. १ बाट पहिलो चरणको काम सुरु गर्न आवश्यक तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो।
२०७४ सालमा आएको बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेको बारेकोटका ७१ घरपरिवारका लागि राहत रकम निकासा भएको छ।
पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन हिमाली, पहाडी, र तराई क्षेत्रका लागि क्रमशः ५ लाख, ४ लाख, र ३ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको जानकारी पनि दिनुभयो।
“हामीले थालनी गरेका प्रयासहरूका कारण अहिले जाजरकोटमा पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेका छन्। अब यी कामलाई समयमै सम्पन्न गर्न प्रभावकारी कार्यान्वयन र अनुगमनमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो। बैठकमा सहभागी नेताहरूले पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाउन केन्द्र, प्रदेश, र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए । साथै, पीडितका लागि छुट्याइएको रकमलाई पारदर्शी रूपमा वितरण गर्नुपर्नेमा जोड दिइएका छन् ।
स्थानीय बासिन्दाहरूले पनि पुनर्निर्माण प्रक्रियाले तिब्रता पाएकोमा आशा व्यक्त गरेका छन्। बाढी, पहिरो, र भूकम्पका कारण आफ्नो घरबार गुमाएका परिवारहरूले अब राहत र पुनर्निर्माणका काम पूरा हुने अपेक्षा गरेका छन्। जाजरकोटमा थालिएका यी प्रयासले जिल्लाका प्राकृतिक प्रकोपबाट प्रभावित समुदायहरूको जीवन सामान्य बनाउन ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।