सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा विश्व क्षयरोग दिवसको अवसर पारी अन्तर विद्यालयस्तरीय बक्तृत्वकला सञ्चालन गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहको अध्यक्षतामा र जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा उक्त दिवसको अवसरपारी बक्तृत्वकला सम्पन्न भएको हो । हो हामी क्षयरोग अन्त्य गर्छौ, क्षयरोग अन्त्यका लागि हामी एक जुट हौं भन्ने विषयमा प्रतियोगिता भएको जिल्ला अस्पतालका ल्याब अशिस्टेशन भक्ति फडेराले बताउनुभयो । मानसरोवर माध्यामिक विद्यालयमा भएको उक्त प्रतियोगितामा प्रथम सर्जनी रावल, द्धितीय रुपेश शाही कर्णाली माध्यामिक विद्यालय, अनिल फडेरा तृतिय मानसरोवर माध्यामिक विद्यालय र सान्तना हुने प्रशान्त बुढा सोही विद्यालयको रहेको फडेराले बताउनुभयो ।
क्षयरोगी उपचारको पहुँचमा ल्याउनुका साथै लक्ष्य अनुसार क्षयरोगीको पहिचान गर्नु पर्ने कार्यक्रमका अथिती तथा समन्वय समितीका प्रमुख शर्माले बताउनुभयो । क्षयरोगलाई नियन्त्रणमा ल्याउनु नयाँ संक्रमित पत्ता लगाउने, नियमित औषधी खुवाउनु अत्यन्तै आवश्यक छ । त्यसका लागि सबै सरोकारवाला निकायले त्यसखालको कार्यक्रमहरु ल्याउनु पर्ने प्रमुख शर्माको भनाई थियो ।
लक्षण विना पनि क्षयरोग लागेको हुनसक्छ, क्षयरोगका लक्षण रोगसँग पनि मिल्छ, त्यसैले मानिसहरुले क्षयरोग चेकजाँच गर्न चासो दिंदैनन्, जनचेतनाको पनि अभाव भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिंहले बताउनुभयो । सरकारले क्षयरोगको औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । क्षयरोग नियमित उपचारले निको हुने उहाँको भनाई छ ।
क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ । यो रोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वाथ्य मानिसले लिँदा रोग सर्न सक्ने भएको जिल्ला अस्पतालका डाक्टर सुनिल पुजाराले बताउनुभयो । लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरु देखा परेमा रोग लागेको हुन सक्ने डाक्टर पुजारको भनाई छ । क्षयरोग नङ र कपाल बाहेक शरीरका सबै अंगमा लाग्न सक्छ । फोक्सोमा लागेको क्षयरोग सर्ने गर्दछ । नेपालमा बढीजसो फोक्सो लागेको क्षयरोगी पत्ता लाग्ने गरेको उहाँको भनाई छ ।