सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाम सिमकोट देखि ४४ कोष दक्षिणको अदानचुली गाउँपालिका वडा नम्बर ४ को पाम्स मोडमा ९ जना यात्रु लिएर गएको सु प ०१००१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।
प्रहरी चौकीका इन्चार्ज बहादुर चन्दका अनुसार बाजुराको धुलाचौरबाट अदानचुली गाउँपालिका वडा नम्बर ५ को काँखे गाउँमा जाने क्रममा पाम्स मोडमा गाडी ब्याक गर्ने क्रममा पछाडीका टायर फुत्केर दुर्घटना हुँदा अदानचुली ५ बारिगाउँका १२ वर्षका प्रवेश ऐडी र कगैइका फागुने लुवारको ज्यान गएको छ ।
मृतक दुवैजनाको लाशलाई श्रीनगरबाट घटनास्थलमा गएको प्रहरीले श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । घाइतेको उपचारको व्यवस्था गरेपश्चात आइतबार पोष्टमाटमका लागि बाजुरको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लिने तयारी भएको बताइएको छ ।
दुर्घटनामा ७ घाइते
पाम्सको दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा गाडी चालक दार्चुला जिल्लाका जनक ठगुन्ना र सहचालक अदानचुली १ का धन बहादुर महतारा रहेका छन् । यसैगरी दुर्घटनामा घाइते हुनेमा अदानचुली गाउँपालिकाको वडा नम्बर ५ का तुला टमटा, रामबहादुर ऐडी, बल बोहोरा, खगेन्द्र टमटा र चैती बुढा रहेका छन् ।
घाइते सबैको सामान्य उपचारपछि थप उपचारका लागि बाजुराको कोल्टी प्राथमिक उपचार केन्द्रमा लगिएको छ । श्रीनगर स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात एक एम्बुलेन्स र २ वटा गाडीबाट गाउँपालिकाका स्वास्थ्य संयोजक विनोद बुढा नेतृत्वको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मीसहित थप उपचारका लागि कोल्टी लगिएको छ । घाइते मध्ये गाडी चालकको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य भएको बताइएको छ ।