सुर्खेत । कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम सुरु भएको छ ।
चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङको काम आइतबारदेखि सुरु भएको हो । दैलेखको भैरबी गाउँपालिका–१ स्थित जलजलेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुख्य ड्रिलिङको उद्घाटन गरेका हुन् ।
चार महिनामा सम्पन्न हुने मुख्य ड्रिलिङले सो स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास भए नभएको एकिन हुनेछ भने पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने वा नसकिने विषयम अन्तिम नतिजा हासिल हुनेछ । पेट्रोलियम अन्वेषण अन्तर्गत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै मन्त्री भण्डारीले अन्तिम चरणका कामको शुभारम्भ गरेका हुन् ।
ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम तथा देशको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण रहेको परियोजना सफल बनाउन कुनै पनि कसरत बाँकी राख्न नहुने बताए ।
परियोजना सफल भएको खण्डमा कर्णालीबाट इन्धन समृद्धि सुरु हुने बताउँदै मन्त्री भण्डारीले मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । २०७२ मा भारतले लगायतको अघोषित नाकाबन्दीपछि चर्चित बनेको पेट्रोलियम पदार्थका खानीहरूको अन्वेषण र उत्खननको काम नतिजान्मुख चरणमा प्रवेश गरेको हो ।
खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार मुख्य ड्रिलिङका लागि उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरी अन्तिम नतिजा आउने गरी काम गरिनेछ ।
अब चार हजारदेखि चार हजार पाँच सय मिटरसम्मको गहिराईमा अन्तिम अन्वेषणको काम गरिने परियोजना प्रमुख नापितले बताए । जसका लागि एक सय ५७ ट्रकबाट आवश्यक उपकरणहरू परियोजनास्थलमा पुगिसकेका छन् भने केही उपकरणहरू ल्याउन बाँकी छ ।
‘मेसिन जडान गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएसँगै अन्तिम अन्वेषणका लागि मुख्य ड्रिलिङ गर्ने कार्यको शुुभारम्भ गरेका हौँ,’ नापितले भने, ‘अबको चार महिनाभित्र सो क्षेत्रमा तेल वा ग्यास के हो त्यसको निर्क्यौल हुन्छ, कति परिमाणमा छ, उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा टुङ्गो लाग्छ ।’
परियोजना प्रमुख नापितका अनुसार दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिईरहेको प्राविधिक प्रतिवेनदनले पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण भएको नापित बताउँछन् ।
‘सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको छ,’ उनी भन्छन्, ‘पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिईरहेको प्राविधिक रिपोर्टले देखाउँछ, यो नै पेट्रोलियम पदार्थ छ भन्नेमा बलियो प्रमाण हो, पुष्टि पनि हो, अब कति गहिराईमा छ, कुन–कुन ठाउँमा छ, कति परिमाणमा छ, प्राविधिक र आर्थिक हिसाबले उपयुक्त छ या छैन भन्नेबारे अध्ययन यस ड्रिलिङबाट गरिनेछ ।’
नेपालको चुरे पहाडको केही भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको अत्यन्तै सम्भावित क्षेत्र रहेको उनको भनाइ छ । हाल परियोजना स्थलमा २१ चिनियाँ प्राविधिकसहित झण्डै ५० जना नेपाली सहयोगीहरूले २४ सै घण्टा अन्वेषणको काम गरिरहेका छन् । यो परियोजना सफल भए दैलेखको मात्र नभई समग्र देशकै समृद्धिको ढोका खोल्ने छ भने, स्थानीयस्तरमै रोजगारी सिर्जना भई आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।