सिमकोट । हुम्लाको ठूलो पूर्णीमाका रुपमा मनाइने साउन पुनी (जनै पूर्णीमा) हिमाली जिल्ला हुम्लामा धुमधामका साथ मनाइएको छ ।
साउन शुक्ल पूर्णीमाको अवसरमा चतुदर्शीको दिन देखि मनाउन शुरु हुने साउने पुर्णीमा जिल्लाभरका मदना, मष्टो देवताका माडौंमा पुजाआजा र धामी नाचेर मनाउने गरिएको छ ।
जिल्लाका विभिन्न गाउँवस्तीमा स्थापना गरिएका देउतामा माडुहरूमा धामी नाचेर सोमबार पूर्णिमा सम्पन्न गरिएको हो।
बिहानैबाट आफूले मान्ने कुल देवताको पूजापाठ गरिसकेपछि दिउँसोबाट धामी नाचेर मनाइन सुरु गरिएको थियो। यो पर्व आज अन्तिम दिन सिमकोटमा बाँडपाललगायत देवताको माडुमा (मन्दिर) धामी नाचेर सम्पन्न गरिएको छ।
हुम्ला जिल्लाका धेरै स्थानमा पूर्णिमा मनाइने गरिन्छ। धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरे पनि चतुर्दशीबाट धामी नाचेर यो पर्व सुरु हुने गर्छ।
पूर्णीमाको अवसरमा सोमबार बिहानैं देखि जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका– ५ को बाँडपालको माडु (मन्दिर), वडा नम्बर ६ को मुग्राधार स्थित कालसिल्ताको माडुमा धुमधामका साथ धामी नाच्न नाचेर साउने पूर्णीमा मनाइएको छ ।
यसअघि धुपी रुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेबित्तिकै दूध छर्किन्छन्। कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायत धामी पालैपालो नाचेर मनाउने कार्य निकै रमणीय र सबै चासो दिएर हेर्ने गरिन्छ।
बोकाको बलि पनि दिने गरिन्छ। घरबाट टाढा गएका मानिस पूर्णिमामा आउने भएका कारण यो पूर्णिमा भेटघाट हुने पर्वका रुपमा पनि मानिन्छ।
ठेहेको रामपाल माडुमा पनि ठूलो धाम
सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहेको रामपालको माडुमा पनि धुमधामका साथ पूर्णीमा मनाइएको छ । ठेहेका सबै पट्टीका देवताका थानबाट आएका धामीहरुको जात्रो ठेहे गाउँ नजिकैको रामपालको माडौंमा जम्मा भएर धामी नाच्ने र देवताको पुजाआज गर्दै पूर्णीमा सकिएको छ ।
जैरमा पनि ठूलो धाम
जिल्लाको मध्ये क्षेत्र सर्केगाड गाउँपालिका वडा नम्बर १ जैरमा समेत ठूलो धाम सहित पूर्णीमा सकिएको छ ।
बिहानै देखि जैरका सबै गाउँका धामी सहितको टोली बिच गाउँमा जम्मा भएर पूर्णीमा मनाइएको छ । जैरका सहकार्मीका अनुसार हुम्लाको जैर, सर्केगाड र मुगुको नेरदेखिका श्रद्धालुहरुको उपस्थितीमा जैरको धा सकिएको छ ।
अदानचुली र ताजकोटको झाडमाडौंमा मेला
जिल्लाको दक्षिणका अदानचुली र ताँजकोट गाउँपालिकाको मेला झाडमाडौंमा सम्पन्न भएको छ । मदना र बाह्रभाई मष्टोको मुख्य पर्वका रुपमा मनाइने साउन पूर्णीमाको अवसरमा दुवै गाउँपालिकाका मदना र मष्टोका धामीसहितको श्रद्धालुहरु ताजकोट ५ स्थित झडमाडौंमा भएको माडुमा ठूलो पुजाआज र धामी नाचेर पूर्णीमा मनाइएको छ ।
झाडमाडुमा मदना देवताका धामीले आप्mनो नचाउने घण्टमा अक्षेताका सहायताले जमरा निकालेका छन् । धेरै देवता चलेपछि सत गर्ने बेला मदनाले जमरा निकाल्दै आएका छन् ।
अदानचुली वडा नम्बर ४ र ५ का धामी, ताँजकोट ३, ४ र ५ का धामीहरु एक ठाउँमा जम्मा भएपछि ३ पालिका हुम्ला, २ पालिका मुगु र केहि बाजुरका दर्शक समेत आउने गरेका छन् ।
पुर्णीमको अवसरमा जिल्लाका विभिन्न माडुमा हुने धाममा स्थानीयहरू नयाँ कपडामा सजिएर माडुमा रमाइलो हेर्न जाने गर्छन्। पहिले–पहिले यो पर्वको अवसरमा वर्षमा एक दिन नयाँ कपडा फेर्ने दिनका रूपमा पनि लिइन्थ्यो। यो पर्वको दोस्रो दिन बाँडपालको माडुमा पनि धामी नाच्ने गरिन्छ।
केही वर्ष अगाडि साउने पूर्णिमाको महत्व घटेको भन्ने भनाइ आइरहेको बेला अहिले भने झनै बढेको देखिन्छ।