हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा समेत सलह किरा पुगेको छ ।
भारतबाट तराई क्षेत्रबाट फैलिदैं बिहिबार सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को धारापोरी, स्याँडा लगायतका क्षेत्रमा देखा परेको हो । आकाशै छोप्ने गरेर आएका सलह किराले खेतबारीमा छपक्कै छोपेको स्थानीय कालू सिहंले जानकारी दिए । ‘बिहिबार देखा परेका सलहले शुक्रबार दिउँसो धारापोरी, हेप्का, स्याँडा, खोल्सी लगायतका स्थानमा निकै सताएको छ,' सिहंले नेपालबोटलाई जानकारी दिदैं भने, ‘झण्डै एक लाखको संख्यामा आएका सलहले मकै, फापर र कोदो बारीमा गएर बाली खाएका छन् ।'
यसैगरी खार्पुनाथ गाउँपालिकाको लाली र प्युसमा समेत ठूलो संख्यामा सलह किराको समुह पुगेको प्युसबाट गगन शाहीले जानकारी दिए । यस अघि जिल्लाको ताँजकोट, अदानचुली गाँपालिकामा सलह किरा देखिएको थियो ।
कृषक चिन्तीत
विभिन्न माध्यमबाट सलह किराले खेतबारीमा लगाएको बाली नष्ट गर्ने खबर सुनेका हुम्लाका कृषले ठूलो संख्यामा सलह देखेपछि ठूलो चिन्ता व्यक्त गरेका छन् । वर्षभरी खेतीपातीको काम गरेर मुष्किलले वर्षको ६ महिना खान पुग्ने हुम्लामा लगाएको बाली सलहले नष्ट पारे थप खाद्यन्न संकट पर्ने आउन सक्ने भन्दै स्थानीय कृषक चिन्तित बनाएको छ ।
‘रेडियोमा र अरुले भने अनुसार सलहले बारीमा लागएको सबै बाली नष्ट गर्छ भन्ने सुुनेका थियौ,' सिमकोट ७ धारापोरीबाट कालु सिंहले भने, आप्mनै आँखा अघि सलहले बारीमा लगाएको मकै, फरम नष्ट गरेको देख्दा त मनै चुडिएर जाँदो रहेछ ।'
एकै पटक ठूलो संख्यामा देखा परेको सलहलाई तत्कालै धपाउन वा नियन्त्रण गर्न सम्बन्धित निकायले तत्कालै ध्यान नदिए आफूले लगाएको बाली सोत्तर हुने भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन् ।
भाँडा बजाउन र धुवाँ बालेर सलह धपाउन कृषि विकास अधिकृतको सुझाव
जिल्ला सदरमुकाम सिमकोट आसपास पहिलो पटक देखिएको सलह किराका कारण कृषक चिन्तीत भएपछि जिल्ला कृषि विकास कार्यालय हुम्लाले भाँडा बजाएर, धुँवा निकालेर धपाउन आग्रह गरेको छ । ‘तत्कालका लागि हामीसँग सलह किरा धपाउने अन्य कुनै उपाय छैन्,' वरिष्ठ कृषि विकास अधिकृत चन्द्रभुषण झाले भने, ‘कृषकको बालीमा क्षती पुगेमा त्यसको तत्कालिक उपायका लागि गाउँपालिकाको कृषि शाखामा समेत सम्पर्क गर्न सकिन्छ ।'
जिल्ला कृषि विकास कार्यालयको गएको आर्थिक वर्षको बजेट सकिएको र नयाँ आर्थिक वर्षको बजेट आइनसेकालेसलह किरा रोकथाम र नियन्त्रणका क्षेत्रमा ठोस कार्यक्रम गर्न समस्या भएको बताएका अधिकृत झाले जिल्लामा देखा परेको सलहको प्रकोपका आधारमा पथप कदम चाल्ने जानकारी दिए ।