सिमकोट । जिल्लामा कोरोनाको अवस्था बूझ्न गरिएको आरटि पिसिआरको रिर्पोट आउन अँझै पाँच दिन लाने भएको छ ।
लामो समय कोरोना परिक्षण नभएकाले जिल्लामा कोरोना संक्रमणको चुनौती थपिएको भन्दै जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकको निर्णय अनुसार संकलन गरिएका स्वावको परिक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्राथमिकतामा नपरेपछि रिर्पोट आउन थप पाँच दिन लाग्ने भएको हो ।
जिल्लामा हवाई तथा स्थलगत मार्ग हुँदैै आउने यात्रुहरुको स्वास्थ्य परिक्षण पनि नभएको र क्वारेन्टिनमा समेत नबसेका कारण कोरोना संक्रमणको चुनौती बढेको भन्दै नमुना परिक्षणका रुपमा गएको भदौ १ गते जिल्लाका विभिन्न १२६ जनाको स्वाव संकलन गरिएको थियो ।
जिल्लामा स्वाव परिक्षणको व्यवस्था नभएपछि हवाई जहाज मार्फत भदौ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उक्त स्वावको परिक्षण गर्ने कार्यमा हुम्लाले प्राथमिकता नपाएपछि रिर्पोट आउन थप पाँच दिन लाग्ने भएको हो ।
“हुम्ला कोरोना संक्रमणको ग्रीनजोन भएकालेपनि श्वाव परिक्षणका लागि प्राथमिकतामा नपरेको हो,” प्रददेश अस्पताललाई उदृत गर्दै जिल्ला अस्पताल हुम्लाका डा. टसी अञ्जुक लामाले नेपालबोटलाई जानकारी दिदैं भने, “कर्णाली प्रदेशका कोरोना संक्रमणको हटस्पटका रुपमा रहेका सुर्खेत, दैलेख लगायतका जिल्लाका स्वावहरुलाई परिक्षणमा प्राथमिकता दिनु पर्ने भएकाले हुम्लाको परिक्षण केही दिन ढिला हुने भएको हो ।”
सरकारले देशभर लकडाउन खुला गरेसँगै एक वटापनि क्वारेन्टिन नभएको र सिमकोट विमानस्थलदेखि जिल्लाका सिमानामा सामान्यखालको स्वास्थ्य परिक्षण समेत नहुने भएकाले कोरोना संक्रमण बढ्न सक्दै परिक्षण गरेर आवश्यक कोरोना व्यवस्थापनको नीति अक्तियार गर्न १२८ जनाको स्वाव संकलन गरिएको हो ।
जिल्लाका बढी जनसम्पर्कमा आउने सुरक्षा निकाय, बित्तिय संस्था, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, स्थानीय तहका जनप्रतिनिधि र केही सर्वसाधारणको प्रतिनिधित्व हुने गरेर अस्पताल हुम्लाले १२८ जनाको स्वाव संकलन गरेको थियो ।