सिममकोट । सर्केघाड गाउँपालिका ७ को रोडिकोटको ठूलो गाउँमा भएको आगलागीमा ५९ लाख ५५ हजार ६० रुपैयाँ बराबरको क्षती भएको छ ।
बुधबार (हिजो) साँझ ६ बजेदेखि शुरु भएको आगोमा परेर पूर्णरुपमा जलेर नष्ट भएका ६ घर र आंशिक रुपमा नष्ट भएका ९ वटा घरको सबै गरेर क्षतिको विवरण ५९ लाख ५५ हजार ६० रुपैयाँ आएको सर्केघाड ७ का वडा अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । जैशीकाअनुसार सर्केघाडमा रहेको सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र वडाका जनप्रतिहरुको टोलीले संयुक्त रुपमा गरेको आगलागीबाट भएको क्षतीको मुचुल्काले अहिलेसम्म उक्त क्षतीको विवरण आएको हो ।
ठूलागाउँको वामनबाडाका जोखे जैशीको घरबाट शुरु भएको आगो स्थानीय नागरिक र सुरक्षाकर्मीको प्रयासमा आज बिहान साढे २ बजे नियन्त्रणमा आएको थियो ।
क्षतीको विवरण केन्द्रमा पठाइयो
रोडिकोट आगलाडीमा भएको क्षतीको विवरण जिल्ला प्रकोप उद्धार समितिका तर्फबाट प्रदेशर संघीय सरकारलाई पठाइएको छ । सर्किदेउ प्रहरी चौकीबाट आगलागी स्थलमा गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका आधारमा तय एकिन भएको क्षतीको विवरण अहिले गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।
स्थलगत रुपमा प्रहरी तयार पारेको विवरण आउने बित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेर जानकारीसहितको पत्र केन्द्रमा पठाएको उल्लेख गरेका प्रजिअ गिरीले आगलागी पिडितका लागि तत्काल आवश्यक पर्ने राहतको व्यवस्थापन गर्दै सबै तहका सरकारलाई अनुरोधसमेत गरिएको जानकारी दिए ।
राहत सहितको टोली पठाउने तयारी गर्दै प्रदेश सरकार
आगलागीबाट घरबार बिहिन भएर छाक टार्न समस्या भएका आगलागी पिडितलाई राहत सामाग्री लिएर प्रदेश सरकारको टोली आगलागी स्थलमा जाने तयारी गरेको बताइएको छ ।
आगलागी भएको खबर पाउने बित्तिकै पुर्णरुपमा घर जलेका ६ घरधुरी र आंशिक घर क्षती भएका ९ वटा घर परिवारलाई राहत लिएर जाने बारेमा सरकारले तयारी गरेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
“अग्नी पिडितलाई ततल सरकारका तर्फबाट कम्तीमा तीन महिनाको खाद्यन्न सहितका राहत प्रदान गरिने छ,” कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भने, “गृह मन्त्रालयसँग नेपाली सेनाको हेलिकोप्टर पठाउने बारेमा कुरा मिलेमा आजै राहत सामाग्री लिएर आगलागी स्थलमा एक टोली जाने छ ।”
कोरोना भाइरसको संक्रमणका कारण नेपाली सेनाका होलिकोप्टका क्याप्टेन होम आइसमोलेसनमा बसेकाले हेलिकोप्टर लिन समस्या भएको उल्लेख गर्दै मन्त्री रावलले राहत सामाग्री सहित प्रदेश सरकारको टोली जान आज संभव नभए भोली कुनैपनि हालतमा जाने बताए ।