सुर्खेत । लामो समय देखि पूर्णता नपाएको कर्णाली प्रदेश सरकारले केहि दिनमै पुर्णता पाउने भएको छ ।
सत्ता साझेदार दलहरुबीच मन्त्रीको भागबण्डा मिलेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।
मुख्यमन्त्री शाहीले माओवादीबाट हुम्लाका छिरिङ दम्डोल लामा (कार्चेन) र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई मन्त्री बनाउन लागेका हुन् । त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बन्नेको अन्तिम सूचिमा छन् ।
प्रदेश सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले थप दुई मन्त्री पाउने सहमती भएको छ । कांग्रेसबाट मन्त्री बन्नेमा यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल नेपाली कांग्रेस प्रदेशसभा दलका सचेतक हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् । अब पूर्णता पाउने मन्त्री मण्डलको संख्या ८ सदस्यीय हुने भएको छ ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारको नेतृत्व कात्तिक १६ गते सम्हालेपनि सत्ता साझेदार दलहरुबीच बाँडफाँडको कुरा नमिल्दा लामो समय मन्त्री परिषद बिस्तार हुन सकेको थिएन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा नमिलेका कारण मन्त्री परिषद्ले पूर्णता नपाएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेको थियो ।
यस अघि नेकपा माओवादीले चार मन्त्रालय र समाजवादीले तीन मन्त्रालयमा दाबी नछोडेपछि भागवण्डा मिलाउन सकस भएको थियो ।
मुख्यमन्त्री शाहीको नेतृत्वको मन्त्री मण्डलमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।
स्रोतका अनुसार दलहरुबीच सहमती भए आज (सुक्रबार) मन्त्रीमा नियुक्त गरेर आइतबार पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।
पछिल्लो पटक तीन मन्त्रीमा सहमती जनाएको माओवादी केन्द्रले गैर साँसदलाई मन्त्रीको रुपमा पाठाउन लागेशको छ । माओवादीकोतर्फबाट मन्त्रीको सूचिकमा रहेका हुम्लाका लामा माओवादी हुम्लाको संस्थापक नेता हुन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८ १३:५४