मुगु । मुगु जिल्लामा रहेको एक विद्यालयमा भौतिक संरचना अभाव हुदा विद्यार्थीहरू एउटै कक्षामा पठनपाठन गर्न बाध्य भएका छन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नम्बर ९ तलिकालैमा रहेको मष्टा आधारभूत विद्यालयमा भौतिक संरचनाको अभाव हुँदा विद्यार्थी एउटै कक्षामा बस्नुपरेको हो ।
२०६८ सालमा स्थापना भएको यस विद्यालयको भौतिक संचरना व्यवस्थापनका लागि स्थानीय सरकारलगायत अन्य निकायले ध्यान नदिएको विद्यालयले जनाएको छ ।
कक्षा १ देखि ४ सम्म पढाइ हुने यस मष्टा आधारभूत विद्यालयमा छात्रा ४८ र छात्र ५० गरि हाल ९८ जना अध्यायनरत छन् ।
विशेषगरि विद्यालयमा गरिब, विपन्न, अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा छात्र र छात्रा राख्नुपरेको प्रधानाध्यापक रत्न प्रसाद चौलागाईँले बताए ।
विद्यालयमा भौतिक संरचनाको अभाव छ भनेर स्थानीय सरकारलाई जानकारी गराए पनि कुनै पनि सुनुवाइ नभएको प्रधानाध्यापक चौलागाईँको गुनासो छ ।
‘कोठा नहुँदा एउटै कोठामा पढिरहेका छौँ । धेरै साथीहरू हुन्छन् । पढ्न पनि ध्यान केन्द्रीत हुँदैन । परीक्षामा जति आयो, त्यति मात्र लेख्ने गरेको छु ।’ कक्षा ४ मा अध्यनरत एक जना विद्यार्थी जनकराज चौलागाईँले भभने ।
पढ्नका लागि कक्षाकोठा मात्रै होइन, खेल मैदान र खेल सामाग्री पनि विद्यालयमा नभएको अर्का विद्यार्थी सम्रिता शाहीको भनाइ छ ।
शौच गर्न पनि सास्ती
मष्टा आधारभूत विद्यालयमा कक्षाकोठाको अभाव मात्रै हैन, शौचालय पनि छैन । एउटा अस्थायी शौचालयमा नै शौच गर्न विद्यार्थीहरू बाध्य छन् ।
विद्यालयमा शिक्षक दरबन्दीको पनि समस्या रहेको छ । गाउँपालिकाको न्यून स्रोतले शिक्षा शाखाले पनि दरबन्दी सिर्जना गर्न नसक्ने अवस्था रहेको र राष्ट्रपति शैक्षिक सुधार आयोजनाबाट विद्यालयमा २ कोठे भवन निर्माण कार्य सुरु भएको छ ।
यसपछि भने विद्यालयमा भौतिक संरचना अभावको समस्या समाधान हुने सोरु गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाको भनाइ छ ।
विद्यालयमा भौतिक संरचना अभाव हुदा एउटै कक्षा कोठामा अन्य कक्षाका विद्यार्थीलाई सँगै राखेर पठनपाठन गराउन समस्या भएको शिक्षिका कमला जैशीले बताउनुभयो ।
उहाँका अनुसार विद्यार्थीको समूह बनाएर पठनपाठन गर्न सकिएको छैन भने बहुकक्षा सञ्चालन गर्दा विद्यार्थीलाई थेग्न सकिदैन ।