मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुका ६१ प्रतिशत नागरिक अहिलेपनि विद्युतको पहुँच बाहिर रहेका छन् ।
जिल्लाका अधिकांश वस्तीहरुमा विद्युत्को लाइन नपुगेका कारण मुगुका वासिन्दा अहिलेपनि अँध्यारोमा नै रात कटाउन बाध्य छन् ।
विद्युत् उत्पादन क्षमताका हिसाबले देश कै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशको मुगुलगायतका हिमाली जिल्लाका वस्ती परम्परागत झरो (दियालो) बालेरै काम कटाइरहेका छन् ।
आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पु¥याउने सरकारको लक्ष्य छ । अहिले वैकल्पिक उर्जासहित ९४ प्रतिशत जनसङ्ख्या विजुलीको पहुँचमा छ । २०७८ सालको जनगणना अनुसार मुगु जिल्लामा जम्मा ६६ हजार ६ सय ५८ जनसङ्ख्या रहेको मुगुमा अहिलेसम्म करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतथको पहुँच भन्दा बाहिर रहेको पाईएको हो ।
मुगुमा ४० हजार ३ सय अर्थात ६१ नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । जसमा मुगुमा २६ हजार ३ सय जना अर्थात ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताईएको छ । विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरुले बताएका छन् ।
मुगुका चार वटा स्थानीय तहका ४५ वडा मध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाईन्छ । विशेष गरेर छायानाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हाल सम्म विद्युतको पहुँचमा रहेका छैनन ।
बाँकि १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहँुचमा रहेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए ।
यस्तै जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिकामा जम्मा ९ वटा वडा रहेको कार्मारोङ्गमा वडा नं ७ र ८ मा विद्युत पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको जनाईएको छ । उक्त पालिकामा जम्मा ७ हजार जनसंख्या रहेकामा ५ हजार नागरिक विद्युतको पहुँचमा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।
यस्तै सोरु गाउपालिकामा ११ वडा रहेको उक्त पालिकामा नेर गाउमा मात्र विद्युत रहेको छ भने जम्मा ३ सय जना नागरिक मात्र विद्युतको पहुँचमा रहेको जनाईएको छ ।
खत्याड गाउपालिकामा २६ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको सो पालिकामा रिखिँया र सेरीमा मात्र विद्युतको पहुँचमा छन भने २३ हजार जनसंख्या अझै विद्युतको पहँुच भन्दा बाहिर रहेको खत्याड गाउपालिकाका अध्यक्ष अज बहादुर शाहीले जानकारी गराए ।
हुम्ला र डोल्पालाई राष्ट्रिय प्रशारण लाईनले छोएन
कर्णालीका मुगु, हुम्ला र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइनले छोएको छैन ।
कुलमान नेतृत्वको विद्युत् प्राधिकरणले माथिल्लो कर्णालीलाई राहत हुन्छ सोचेका कर्णालीवासीले उनको बर्हिगमनपछि राष्ट्रिय लाइन आउने आशा नै मारिसकेको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लको गुनासो छ ।
विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा पनि अँध्यारोमा रात कटाई रहेका माथिल्लो कर्णाली बासिका बालबालिका, महिला, जेष्ठनागरिकका पिडाले केन्द्र सरकारलाई छुन नसकेको उनको तर्क छ ।