ईश्वर बराल
राजनीति कम्पनी प्रालि
लेखामा सालासाली
परिवारले प्रशासन चलाउने
योजना सबै बनाउने
हरिवंश आचार्यको शब्द र स्वर रहेको गीत ‘हाम्म हाम्म’को उल्लेखित हरफले नेपालको राजनीतिको पछिल्लो परिदृश्यलाई प्रष्ट पार्छ। राजनीतिक नेतृत्वले लाभको पद पाउने बित्तिकै आफ्नै परिवारका सदस्यलाई सचिवालयमा राख्ने र उनीहरुकै योजना अनुसार कुकृत्य हुने गरेका कैयौँ घटना सार्वजनिक भइरहेकै बेलामा आचार्यको गीत झन् बढी सान्दर्भिक भएको छ।
पछिल्ला दिनमा चर्चामा रहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणमा केही प्रभावशाली बाबुका सन्तान पनि मुछिए। रामबहादुर थापा बादल गृहमन्त्री रहँदा उनकै सचिवालयमा रहेका उनका पुत्र प्रतीक थापा फरार हुनुपर्ने स्थिति उत्पन्न भएको छ। बादल गृहमन्त्री छँदा नै शरणार्थीसम्बन्धी कार्यदल गठन भएको थियो।
बादलपुत्र प्रतीकका सम्बन्धमा यसअघि अनेक सवालमा प्रश्न नउठेको होइन। तर, ती विषय त्यतिकै सेलाए। तर यो प्रकरणमा भने उनी फरार भएका छन्। जसले उनको संलग्नताको आरोपलाई थप बलियो बनाएको छ।
रोचकचाहिँ के छ भने, उनले यस सम्बन्धमा गत वैशाख २१ गते विज्ञप्ति निकालेका थिए। शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी त सामान्य र स्वाभाविक भइहाल्यो। तर, गृहमन्त्रालयको कार्यभार नै आफूलाई दिइएको जस्तो भान हुने गरी विज्ञप्ति सार्वजनिक गरे।
‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ’, प्रतीकको विज्ञप्तिमा भनिएको थियो, ‘जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौँ।’
उनको दाबी एकातिर छ, प्रहरीले संकलन गरेको प्रमाण अर्कैतिर छ।
प्रतीकका बाबु बादल राजनीतिक व्यक्ति थिए। राजनीतिक व्यक्तिका निम्ति आरोप सामान्य कुरा हो। कतिपय निर्णयले वाहीवाही पाउने र कतिपय निर्णय विवादमा फस्ने विषय पनि राजनीतिमा चलिराख्छ। कहिले सार्वजनिक सम्मान र कहिले जेल यात्रा राजनीतिक नेताहरुका सामान्य उपक्रम हुन्। यद्यपि यो प्रकरण अहिलेसम्म बादलका सन्दर्भमा मौनप्रायः छ।
तर बादलपुत्र प्रतीक थापा यो प्रकरणमा मुछिएका छन्। उनीमाथिको आरोपको पटाक्षेप होला नै, अहिलेसम्म सार्वजनिक विषयले उनले बाबुको पदीय शक्तिको दुरुपयोग गरेको देखिन्छ। बाबु बादललाई प्राप्त गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न सहयोग पुगोस् भनेर उनैले सचिवालयमा राखेका प्रतीक भने आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने नै अहिलेसम्मको प्रहरी अनुसन्धानले देखाउँछ।
बादल मात्रै होइन, यो प्रकरणमा टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पनि मुछिएका छन्। दुवैलाई प्रहरीले पक्राउ गरिसकेको छ। तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र उनका छोरा निरज पनि मुछिएका छन्।
उल्लेखित नाता सम्बन्धले बाबुको सचिवालयमा रहेका सन्तानको बदनाम शैलीलाई देखाउँछ। बाबुछोरा मात्रै होइन, आरजु राणा र मञ्जु खाण जस्ता नेताहरु श्रीमानको शक्ति दुरुपयोगसँग जोडिएका छन्। मञ्जुका श्रीमान् बालकृष्ण खाण भने शरणार्थी प्रकरणमै पक्राउ परिसकेका छन्। उनीहरु सबैमाथि केही न केही रकम लिएको आरोप छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पुत्री गंगा दाहाल उनकै सचिवालयमा छिन्। उनीमाथि प्रकरण विशेषमा नाम जोडिएको त छैन। तर अनौपचारिक रुपमा प्रश्नहरु उठिरहेका छन्। जसका पटाक्षेप प्रचण्ड शक्तिबाट बाहिरिएका दिनमा नहोला भन्न सकिन्न।
परिवारको एउटा व्यक्ति पदमा पुग्ने र बाँकी विचौलिया कार्यमा मुछिने सन्दर्भ नयाँ होइन। अझ सचिवालयमै रहेर काम गर्ने सन्तान वा आफन्तको मुख्य काम नै त्यही हो भन्ने आम विश्वास छ। यस्तो किन हुन्छ र भइरहेको छरु पछिल्लो प्रकरणलाई सन्दर्भमा लिँदै राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले पार्टीहरुको निजीकरणलाई व्याख्या गरे।
‘राजनीतिसँगै पार्टीहरु जुन किसिमले निजीकरण भएका छन्। त्यसको एउटा ठूलो संकेत हो पछिल्लो प्रकरण। शक्तिमा हुँदाखेर उसले वरिपरि के देख्छरु र, कसलाई पोस्छरु भन्ने कुराको संकेत पनि हो’, उनले भने।
सत्ता वा शक्तिमा हुँदा आफन्त र आसेपासेभन्दा पर नजर नपुर्याउनेहरुको अवस्थिति पनि यो प्रकरणले देखाएको महर्जनको बुझाइ छ।
‘आफन्त वा आसेपासे भएपछि भ्रष्टाचार गर्न होस् वा अन्य नीति निर्माण तहमा पुर्याउने प्रभावका निम्ति सञ्जाल बढाउन सजिलो हुन्छ। कुनै गोप्य कुरा गर्नु पर्यो भने पनि धेरै बाहिर नजाने भयो। त्यस्तै, फाइदा हुने काम भयो भने पनि धेरै बाँड्नु नपर्ने भयो। अनि गोप्यता पनि भंग नहुने भयो’, पदमा पुगेकाहरुले परिवारका सदस्यलाई सचिवालयमा राख्नुको कारण खोतल्दै उनले भने।
नेकपा एमालेले कुनै बेला मन्त्रीका सचिवालयमा बस्ने सदस्यहरुको नियुक्ति पार्टीकै तर्फबाट पठाउँथ्यो भन्ने सो पार्टीका नेताहरु बताउँछन्। तर आजकाल त्यस्तो छैन। सत्तामा गइरहने अन्य पार्टीहरुमा त त्यस्तो अभ्यास नै थिएन। जसले गर्दा मन्त्रीहरुले आफूलाई सबै कोणबाट सहज हुने व्यक्तिलाई प्राथमिकता दिन थालेको पाइन्छ। त्यस्ता व्यक्ति खोज्दै जाँदा उनीहरु परिवारकै सदस्यमा पुग्ने गरेको उदाहरण भेटिन्छ।
पार्टीहरुले मन्त्री बनाउँदै गर्दा उसलाई सहयोग गर्ने टिम उसले आफ्नै तजबिजीले राख्ने परम्पराले प्रतिबद्ध कार्यकर्ताहरु किनाराकृत हुँदै पार्टीहरु निजी संस्था बन्न पुगेको ठान्छन्, महर्जन। ‘यसले के पनि देखाउँछ भने पार्टीहरु निजी संस्था, निजी हितहरु पोषण गर्ने हतियार मात्र भए’, उनले भने।
यस्तो प्रवृत्तिले पार्टीहरुको योग्यतम कार्यकर्ताको परिभाषा बदलिएको बताउँछन्, महर्जन। ‘पार्टी भनेको आम मान्छेहरुको भएको स्थितिमा त राम्रो छवि भएकाहरुले स्थान पाउनुपर्ने हो। योग्यतम् मान्छेहरु परिचालन गर्नुपर्ने हो’, उनी भन्छन्, ‘अहिले योग्यतम् मान्छे भनेकै हाम्रो, त्यो भन्दा पनि आफ्नै छोरा–छोरी भएको कुराहरु यिनै घटनाक्रमहरुले पुष्टि भएको छ।’